Tuesday 18 August 2015

परम प्रति समर्पित ग़ज़ल - दिव्य ग़ज़ल : इश्क-ए-हकीकी


दिव्य ग़ज़ल : इश्क-ए-हकीकी
 परम प्रति समर्पित ग़ज़ल - दिव्य ग़ज़ल : इश्क-ए-हकीकी 

गजल उर्दू साहित्यको लोकप्रिय विधा हो। कारण हो, यसले आफूमा सम्हालेको मानवीय मर्म( प्रेम। यहि प्रेमभावको, सेरोफेरोमा, वरिपरि र सन्निकट रहेर गजलको रचना हुन्छ। यद्यपि आजभोलि अन्य विषयपनि गजलले समेट्न थालिसकेको छ। तैपनि, गजल भन्ने बितिक्कै प्रेमभाव र श्रृङगार रसनै यसका पर्याय हुन्। 

अनुभवीका मुखबाट सुनिन्छ, प्रेममा घाइते नभएको र प्रेमले नबौरिएको जीवन के जीवन ? तसर्थ गजल, लेखन भन्दापनि प्रेममय जीवनको एउटा जीवनशैली या अनुभूति हो। प्रेमका दुस्साहसी (दिवाना) हरूले, प्रेमको काहालीलाग्दो खाँचको डर मात्र चाखेका छैनन्, यसको दिव्य टाकुरामा समयसिमा नाघेर समाधिस्थ भएको अनुभवपनि सङ्गालेका छन्। त्यसैले सूफी परम्परामा प्रेमको अनुभवलाई दुई किसिमबाट बयान गरिएको छ। ती हुन्,  

 इश्क्-ए-मजाजी र इश्क्-ए-हकीकी ।



सूफीहरू भन्दछन्, कसैलाई आफू समर्पित गरिदिनु, आफ्नो अहङ्कारलाई निमिट्यान्न पार्नु नै ईश्क--मजाजी हो। प्रेम, उदाङ्गो हुनु हो, आफ्नो अहम लार्इ आफ्नो प्रेमको सामु नष्ट गरिदिनु हो। तर त्यतिले मात्र प्रेमातृप्त होइन्छ र ? त्यो त प्रेमको गहिरो खाँच र खुम्चा ओर्लेको मात्र हो। प्रेमको टाकुरा, चुचुरो टेक्न त बाँकी नै छ। प्रेमको यो चरणलाई सूफीहरू, ईश्क--हकीकी अर्थात वास्तविक प्रेम भन्दछन्। यो नै दिव्य प्रेम या मनुष्यको परात्माप्रतिको प्रेम राग हो। यो अवस्थामा परमात्मासँग उच्चतम् प्रेम हुन्छ र उनको नै गुणगान गरिन्छ। सृजनाले आफ्नो सर्जकप्रति राखेको अद्भुत र अद्वितीय प्रेम छताछुल्ल हुन्छ। ईश्क--मजाजीमा जे-जस्ता कमी र कमजोरीहरू हुन्छन्, ती कुनैपनि ईश्क--हकीकीमा हुँदैनन्। यहाँ आईपुग्दा जम्मै अपूर्णता हराइ सक्दछन्, सबै पूर्ण हुन्छ। सबै पवित्र भइसक्छ र प्रेम गर्ने स्वयं परमात्मारुपि हुनजान्छ।यहाँसम्म आइपुग्दा जम्मै सिमाहरू मेटिइसक्छन् र प्रेमी कसैको सामुन्ने, या स्वयं परमात्माको सामुन्ने आफ्नो प्रेम उद्घोष गर्न, बदनाम हुन, उदाङ्गिएर नाङ्गो हुन र आफू मेटिनसम्म तयार हुन्छन्। ब्यक्तिगत अहमको यहाँ स्थान त के, चर्चा समेत हुँदैन। यत्रतत्र, सर्वत्र प्रेमीको छवि देखिन्छ र त्यसैमा लीन र एकाकार होइन्छ। सूफी मत छ, जबसम्म कुनै ब्यक्तिको ईश्क--मजाजी, ईश्क--हकीकीमा रुपान्तरण हुँदैन तबसम्म उसको जीवनले कुनै र केही अर्थ राख्दैन। 

त्यसैले सूफीहरूको साधनानै ईश्क--हकीकीको अनुभव प्राप्त गर्नु हो। प्रेमको द्वारबाट आफ्नो प्रियतमसँगको एकाकारसम्म पुग्नु हो। उनीहरूले गाउनु, नाँच्नु, लेख्नु र जुनसुकै कृत्य, ईश्क--हकीकी हो। यस्तो अवस्थामानै ईश्क--हकीकी गजलको आगमन भएको हो। अर्थात्, दिव्य गजल त्यस्तो ईश्क--हकीकीको भावले ओतप्रोत भएको अवस्थामा लेखिन्छ। जबसम्म प्रेममा आफू बाँकी होइन्छ, आफ्नो प्रयास जारी रहन्छ, त्यो ईश्क--मजाजी हो। तर, जब सबै प्रयासहरू समाप्त भइसक्छन्, सबैथोक आफ्नो प्रेमी, मुर्शिद (गुरु) या खुदा (परमात्मा) लाई समर्पित गरिन्छ, तत्पश्चात जुन प्रेमरसको अनुभूति हुन्छ, त्यो ईश्क--हकीकी हो। त्यस्तो प्रेमरसको भावले ओतप्रोत भएर लेखिएको गजल ईश्क--हकीकी गजल हो। तसर्थ, दिव्य गजल, गजल रचना मात्र हैन, साधना हो, दिव्य प्रेमको। त्यो प्रत्येक प्रेमी साधककालागि उसको प्रियतमले दिएको प्रियतम उपहार हो, प्रसाद हो। त्यसैले दिव्य गजल रचनागायनको प्रथम शर्तनै ऊ आफ्नो प्रियतम या मुर्शिद या गुरुको दिव्यप्रेममा डुबेको हुनपर्दछ। अन्यथा त्यस्तो रचना सम्भव छैन। 

   

सामान्यतया नेपाली समाजमा उपलब्ध गजलहरू, ईश्क--मजाजी गजल अन्तर्गत पर्दछन्। अर्थात, अहिले प्रचलित गजलहरूमा प्रेमी-प्रेमीका आफ्नो साथी सामु आफ्नो अहम् बिसर्जन गर्छन्, अर्थात उदाङ्गो हुन्छन्। नाङ्गिन्छन्। अझ त्योभन्दापनि तल झरेर एकअर्काको शरीर र अङ्गहरूको बर्णन र बिषयभोगको आवेदनमा नै अल्झिएका देखिन्छन्। यस किसिमले यहाँ प्रेम शुद्ध भइसकेको छैन, बासनायुक्त छ। तर दिव्य गजल नेपाली समाजमा लोकप्रिय भएमा त्यसले प्रेमको गुणवत्ता र मानकनै फेरिदिनेछ जहाँ प्रेमीहरू आफ्ना भाव र अभिष्ट भन्दा माथि उक्लेर आ-आफ्ना साथीमा परमात्माको छवि देख्न थाल्नेछन्। यसरी दिव्यगजलले मनुष्यलाई, मनुष्यताबाट दिव्यतामा रूपान्तरित हुने प्रेरणा दिन्छ र प्रार्थनाको पथमा डोर्यायउँछ। दिव्यगजल, यस अर्थमा एउटा छुट्टै जीवनशैली या आध्यात्म दर्शन हो जसमा समाज रुपान्तरणको प्रभावकारी उद्गमविन्दु हुने क्षमता छ। त्यसैले अब हामी सबैले हाम्रो प्रेममय जीवनलाई इश्क--मजाजीबाट, इश्क--हकीकीतिर लानुपर्छ। प्रेम दिव्य अनुभव हो। त्यसलाई त्यसैगरि ज्युनपर्छ। हरेक जीवन दिव्य हुनपर्छ, हरेक कृत्य दिव्य हुनपर्छ। हाम्रा हरेक सृजना दिव्य हुनपर्छ। हामीले दिव्य रच्नुपर्छ, दिव्य बाँच्नुपर्छ।





प्रेमको उच्च उत्कण्ठा, आदर्श र अनुभवमा आधारित्, गजल लेखनको प्रारम्भिक अभ्यास हामी केहि साथीसङ्गीहरूले सुरु गरेका छौँ। यस जमर्को बारे केहि उत्साही गजलकार मित्रहरू जिज्ञासु पायौँ। तसर्थ, गजलको यो दिव्य आयमको परिचय गराउने र सो लेखनमार्गमा उन्मुख गर्न गराउन यो हाम्रो प्रारम्भिक प्रयास हो। गजलको रेडियो कार्यक्रम बुल्बुलु मा र कोहलपुरका गजलप्रेमीका जमघटमा, श्री सुवास अगमले स्वामी प्रेमशान्तका गजलहरू (म नाचिरहेछु) र (सल्काउन गार्हो) लगायत अरुपनि यसै धारका गजल गाएपछि, अब हाम्रो समाजमा, सूफी समाज मा झैं दिव्य गजलले स्थान पाउने वा बनाउने मात्र हैन, एउटा सार्थक र बलियो धार स्थापना गर्नेछ र यहाँहरूको भावपूर्ण साथ पाउनेछ भन्ने विश्वास भएको छ। हामीहरूलाई सुझाव दिनुहोस् र सल्लाह दिएर हाम्रो मार्ग प्रसस्त गर्नुहोस् भन्ने अनुरोध गर्दछाै ।

 स्वामि प्रेम शान्तम् / सुवास अगम

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion