Showing posts with label संकल्प. Show all posts
Showing posts with label संकल्प. Show all posts

Wednesday, 8 July 2015

अत्त दिपो भव / Be Light Unto Your Self.

 असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
 शान्तिः शान्तिः शान्तिः ॥
 शाक्यमुनि भगवाना वुद्धले शरिर त्याग गर्ने क्षण अन्तिम प्रहरमा अत्त दिपो भव भन्दै बिदा लिनुभएकाे थियो । जुन त्यस समय पश्चात भारतवर्षमा अतयन्तै प्रख्यात रह्यो । यि शव्द सनातन धर्मकै उपज भएपनि यिनमा प्राण भने सम्यक संवुद्ध कै वाणीले दियो । यी शव्द नै वुद्धका अन्तिम शव्द र देशना थिए । हामीलाई परिवर्तन गर्न अरुले केही सहायता त गर्लान्, तर सार्थक कदम भने आफूले नै चाल्नु पर्दछ । एकको भोक अर्काले खाएर पूरा नभए जस्तै जीवनलाई सार्थक वनाउन पनि आफू स्वयं नै प्रदीप्त हुनु जरुरी छ ।
     पावोलो कोयलोको विश्व प्रसिद्ध उपन्यास ‘अल्क्यामिष्ट’ मा संकल्पको सम्वन्धमा भनिएको सम्वाद ॐ शान्ति ॐ भन्ने फारा खान निर्देशित चलचित्रमा उतारिदा भारत, नेपाललगायत हिन्दी चलचित्रका पारखीमाझ खुव दोहोर्याइयो । त्यो उही अल्क्यामिष्टको परिमार्जित तर उही अर्थ दिने सम्वाद थियो ‘इत्नी सिद्दतसे मैने तम्हे पाने कि कोसिस कि है, कि हर जर्रे ने मुजे तुमसे मिलानाकी साजिस कि है, क्हेतेहै अगर किसी चिजको दिलसे चाहो तो पुरी कायनात उसे तुमसे मिलानेकी कोसिसमे लग्जाति है ।’
यो सत्य कथन झण्डै वुद्ध चेतनाको नजिकको अनुभूति गरेका पावोलो कोयलोको अल्क्यामिष्टमा पनि साहै्र महत्वपूर्ण तरिकाले दर्साइएको छ । जुन सम्वादले त्यस उपन्यासको मुलपात्रलाई कर्म, संकल्प र संकल्पप्रतिको निरन्तर लगनले जीवनमा चाहेको बाटो हिड्न र चाहेको सपना पूरा गर्न सघाउँछ ।
     पूर्वीय सनातन परम्पराका सबै विद्वानहरुले र शास्त्रले पनि मानव जीवन वहुत दुर्लभ रहेको र मानव मात्र भई जन्मनुु आफैमा अहोभाग्यको कुरा बताउँछन् र वैज्ञानिक दृष्टिकोणले हेर्दा पनि अन्य प्राणिको जीवनभन्दा मावन जीवन उत्कृष्ट नै देखिन्छ । तर यदि सर्वेक्षण गर्ने हो भने धेरै मान्छे आज मानव जीवन भन्दा जनावरको जीवन राम्रो, सुखमय हुन्छ भन्ने भेटिन्छन् । युरोपका अधिकांस वृद्धवृद्धाको साथी कुकुर, विराला, घोडा भएका छन् । कहाँ थिम गल्ती भएछ होला ? कहाँ थिम के भुल भयो ? हामीले हाम्रो गरिमा किन भुल्यौ ? यी सवै प्रश्नको लागि मेरो एउटै उत्तर हुने छ त्यो हो – गलत संकल्प ।
      संकल्प भनेको के हो त त्यसो भए ? कसरी हामी गलत संकल्प गरिरहेछौ ? हामीले यो संकल्पको बारेमा किन जानकारी पाएनौ ? के हाम्रा विद्वान, गुरु, शिक्षक, पाका उग्रजलाई यसको बारेमा थाहा थिएन ? किन आएन यसको बारेमा कुनै किताव वा शास्त्रमा जानकारी ? यी सवै प्रश्नहरुको लागि मेरो उत्तर यस्तो छ –
      मानव जीवन भनेको यति दुर्लभ छ कि, मानव बनेर जन्म लिएर मात्रै इन्द्रलगायतका समस्त देवता पनि बल्ल मोक्ष प्राप्त गर्न सक्दछन् । त्यसैले यो कुरा गाँठो पारेर बुझ्नुहोस् कि ति सवै देवता भन्दा तपाई राम्रो स्थानमा हुनुहुन्छ । ति सवै देवताहरु एउटा जागिर खाइरहेछन्, केवल जागिर । कसैको के जागिर, कसैको के जागिर । तर मुक्त भएर विचरण गर्न, यो पवन, सूर्य, चन्द्र, वृक्ष, पात, माटोसँग एक हुने पालो पहिले तपाईले पाउनु हुनेछ अनि वल्ल देवताले, मानव वनि यो संसारमा आएपछि वल्ल पाउने छन् ।
     संकल्पले मानव वुद्ध बन्न सक्छ, अनि विल गेट्स पनि, अनि मदर टेरेसा पनि । अन्जान रुपमा गरिएका गलत संकल्पले नै असफलता, निरसताको माहौल तयार पारी पूरा एक मानव सभ्यता नै तहसनहस पार्न सक्छ । यो मिठो सत्य थाहा हुने सन्तहरुले कल्पकल्पदेखि यो कुरा भनि पनि रहेछन् । तर सम्झिनुहोस् त पछिल्लो हप्ता कहिले तपाईले एक सन्तसँग एक पूरा हप्ता सत्संग अर्थात् सत्यको संग गरेर विताउनुभो ? संम्झिनुहोस् त ध्यानको, भगवानको कुरा त वहुत गर्नु भयो होला, तर कहिले आधा घण्टा ध्यान गर्नुभयो ? ठूलाठूला व्यापारीका गाडी, घर आईफोन त हेरेर धेरै पल्ट डाहामा जल्नु भयो होला, तर ऊ त्यहाँ कसरी पुग्यो भनेर कहिले जीवनी पढ्नु भयो ? 
     संकल्पको विज्ञानले काम गर्ने तरिकाको केही अंश ॐ शान्ति ॐ चलचित्रको सम्वादमा पनि रहेको छ कि कुनै पनि उद्देश्य प्राप्तिको लागि पूरा प्राणले ऊर्जा दिएर मनदेखि लाग्ने हो भने सारा अस्तित्व नै तपाईलाई त्यो उद्देश्य प्राप्ति हेतु एक किसिमको चक्रव्यूह नै रच्न तत्पर हुन्छ । खप्तडवावले यस संकल्पलाई विचारसँग जोडेर ‘विचार विज्ञान’मा उल्लेख पनि गर्नु भएको छ ।
     संकल्पले कसरी काम गर्छ त ? संकल्पलाई बुझ्न एक नेपाली उखानले केही हदसम्म सहयोग गर्छ । ‘जस्तो खायो पानी उस्तै हुन्छ वाणी, जस्तो खायो अन्न उस्तै हुन्छ मन’ अर्थात हामी जे बोल्छौ, जे पढ्छौ, जे खान्छौ, त्यही कुराले नै हाम्रो जीवन तयार पार्दछ । सानो वच्चालाई विद्यालयमा शिक्षकले ‘गधा, कुकुर, तेरे दिमागमा गोवर भरिएको छ कि क्या हो?’ भन्ने हाम्रो सामान्य चलनको शव्द बनेको छ । म जहाँ तहि सुन्छु –मानिसहरु यसो भन्छन् –“‘मेरो जीवन त अस्तव्यस्त छ’ अभागि खप्पर जहाँ गए नि ठक्कर’, ‘मैले जे सोच्छु ठ्याक्कै उल्टो हुन्छ’, ‘भन्न सजिलो छ गर्न गाह्रो छ’, ‘छोटी मु वढी वात’, ‘सफल हुन गाह्रो छ’, ‘मेरो त भाग्य नै खोटो’ ‘अभागी पुर्पुरो’ आदी । यी वाक्यहरु यहाँ उल्लेख गर्दा मात्रै मलाई नकारात्मक अनुभूति भइरहेछ । कल्पना गर्नुहोस् त, जो मानिस हरेक दिन यी वाक्य दोहोर्याउँछ, उसको जीवन कस्तो होला ? सकारात्मकता प्रवेश गर्ने कुनै प्वाल वा चर समेत बाँकी छैन, यी वाक्यहरुको माझबाट । यो अस्तित्व या भगवान, या भाग्य या तपाईको जीवनले तपाईलाई यति धेरै प्रेम र श्रद्धा गर्छ कि – हजुृरको हरेक शब्दलाई उसले आदेश सम्झन्छ । र त्यो आदेशलाई चरितार्थ गर्न सम्भव–असम्भव सबै कुरा गर्छ । त्यसैले त जव तपाई ‘मैले जे सोच्छु ठ्याक्कै उल्टो हुन्छ’, भन्दा ठ्याक्कै उल्टो हुन्छ । अनि तपाई यो विचारमा झन दृढ बनी त्यो वाक्य जीवनभर दोहोर्याइरहनु हुन्छ । तपाई कुनै यात्रामा जाँदा सिटामोल र मलम लिएर जे पनि हुन सक्छ र भएमा काम लाग्छ भनी लग्नु हुन्छ । र अस्तित्वले ‘हजुृरको जे मर्जी’ भनी तपाईलाई घाउ र ज्वरो दुवै दिन्छ । अनि तपाई त्यसको वावजुद मैले यी दवाई ल्याएर कस्तो राम्रो गरे भनी भनिरहनुहुन्छ । सकारात्मक कुरा भन्नासाथ सारा अस्तित्व, हावा, आकाश, पात–पतिंगर, फूलले त्यो सकारात्मक विचारले तयार गरेको संकल्प दूरदूरसम्म लगेर सितल, सकारात्मक जवाफ नै तपाई सामु फर्काउँछ । नकारात्मक कुरा भन्ना साथ पनि फेरी अस्तित्वले त्यति नै त्वराको साथमा तपाईलाई पूर्णरुपमा नकारात्मक हुन इमान्दारीपूर्वक सहयोग गर्छ ।
     तपाईले सोचेको कुराले तत्क्षणबाट प्रभाव दिन थाल्दछ । र बोलेको कुराले त अझ त्यो भन्दा पनि छिटो । जब एक वच्चाले उरान्ठेउला ठूला सपनाको कुरा गर्छ, हामी उसलाई हाँसेर वा गाली समेत गरेर निरुत्साहित गछौं । जुन साह्रै ठूलो अपराध हो । अल्वर्ट आइस्टाइनले भनेका छन्  – ‘सानो सपना देख्नु पनि अपराध हो ।’ अर्का एक उद्योगपतिले भनेका छन् कि – ‘तपाईले कुनै काम गर्न सक्छु वा गर्न सक्दिन भन्दा दुबै पल्ट तपाई ठिकै बोलिरहनु भएको हुन्छ । किन भने तपाईको सोचको ऊर्जा जता जान्छ त्यही नै संकल्प अस्तित्वले बुझ्छ र त्यही नै हुन्छ ।’
नेपाली समाजमा र सञ्चारमा बज्ने ८० प्रतिशत गीत विछोडका, असफल प्रेमका र निरस जीवनका हुन्छन् । चाहे त्यो अरुणा लामाको ‘उदास मेरो जीवन’ होस्, रामकृष्ण ढकालको ‘ओराली लागेको’ होस्, स्वरुपको ‘म ढले’ होस् या अञ्जु पन्तको ‘नविर्से तिमीलाई’ होस् । जसले गर्दा संगीतमा लाग्ने नवपुस्ता यस्तै गीत गाउन र लेखक पनि यस्तै ढंगका गीत लेख्न खोजी रहन्छन् । जसले गर्दा नकारात्मक ऊर्जा नै सम्प्रेषण गरिरहन्छ । सञ्चारमा प्रसारित हुने समाचारमा पनि नकारात्मक समाचारले नै प्राथमिकता पाउँछ । सकारात्मक समाचारले अन्त्यमा वा स्थान नै नपाउने स्थिति हुन्छ । जसले गर्दा पूरा सभ्यता नै नकारात्मक कुरा पढेर, सुनेर, हेरेर हेर्किदैछ ।
     जे भयो, सकियो, हामीसँग आज छ, जुन स्वर्णीम नयाँ सभ्यताको जग हाल्न खुला हातसहित हाम्रो स्वागत गरिरहेछ । वच्चा, वयस्क या वृद्धका हरेक उरन्ठेउला सपनाको सम्मान गर्न सिकौ र सवै सम्भव छ भन्न सिकौं । र ‘आज मेरो दुर्घटना हुँदैन’ भन्ने होइन, वरु ‘आज म सफलता पूर्वक कर्म पूरा गर्नेछु’ भन्ने खालको सुगन्ध, सुगन्धित अत्तर जस्ता शव्द प्रयोग गर्न शुरुवात गरौ । वादल जति नै कालो भएपनि साना–साना नै किन नहुन् सेता सेता चाँदीका स्वेत रेसाहरुका कुरा गरौं । अब आजबाट वितेका नराम्रा होइन, राम्रा कुराका कुरा गरौं । र, हामी सवै मिले के हुँदैन भन्ने सोच राखौ । ‘यो कुरा गर्न गाह्रो छ’ भनेर नगर्नु भन्दा मनका कुरा सुनेर मनले जे भन्छन् त्यही कर्म गरौं । किनकि नकारात्मक कुरालाई धकेल्ने होइन, वरु सकारात्मक कुराले आफूलाई भरौ । अनि नकारात्मकताको सोच गर्नु नै पर्दैन । जति नै विषमः परिस्थितिमा पनि सम्भव भएसम्मको सद्विचारलाई नै अघि राखौं । कसैले गाली गरे गाली मात्र गरेको, नपिटेकोमा धन्यवाद दिनु, पिटी हाले नमारेकोमा अहोभावले भरिनु र मार्न नै प्रयास गरे, ‘अस्तित्वको त्यही नै अन्तिम इच्छा भए त्यो पनि स्वीकार प्रभु ! आजसम्म जति वाँचे आनन्दले वाँच्न पाएँ, यो जीवन अद्भूत थियो, त्यसको लागि धन्यवाद’ भनी मृत्युवरण गर्नु । मोक्ष, त्यही कतै पर्खिरहेको हुनेछ ।
 अस्तु ।
 सुवास अगम 

What you seek is seeking you: Rumi

Loading...

Cha ke ke lukeko sajal ti nayan maa

Creativity is the greatest rebellion in existence : Osho

Loading...

I don't know what I think until I write it down: Joan Didion